कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए ।
सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए ।
उनले भने, ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ । मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परिसान’ छु ।’
अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहो¥याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ ।
उनले भने, ‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाईँहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ ।’
उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफै प्राप्त हुने भन्दै राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउनाका साथै देशको गरिमा समेत जोगिने बताए ।
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
धरान (सुनसरी) I जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । कोशी प्रदेशको संखुवासभा जिल्ला र बागमती प्रदेश अन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।
ईन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति पुनर्गठन भएको छ । त्यसैगरी सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।
भदौ महिनादेखि सुरु गरिएको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियानअन्तर्गत जसपा नेपालले पार्टी संगठन गठन, पुनर्गठन गर्ने कार्य गरिरहेको छ ।
मङ्सिर मसान्तसम्म सञ्चालन हुँने भनि निर्धारण गरिएको अभियानको समयावधि थप हुन सक्ने पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा विद्यालयको भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
त्यसै क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रिया समेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए ।
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख लगानी गरेका छन् ।
पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो ।
सरकार र एडीबी बीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी), जलवायु अनुकूल परिदृश्य र जीवनयापनका लागि सहुलियतपूर्ण ऋण साथै अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु प्रतिरोधी परिदृश्य र जीविका परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ बराबर)को सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
एमआईआईपी कार्यान्वयनका लागि १ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब एनपीआर बराबर) अनुदान र ११ करोड अमेरिकी डलर (१४ अर्ब ८८ करोड रुपैयाँ बराबर) ऋण सम्झौतामा अर्थसचिव डा.रामप्रसाद घिमिरे र अर्नाउडले हस्ताक्षर गरेका हुन् ।
आयोजना मधेस प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागु हुने गरी १ लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने मन्त्रालयले जनाएको छ । परियोजनाको प्राथमिक उद्देश्यहरू कृषि उत्पादकत्वमा सुधार, वर्षभरि सिँचाइ सुनिश्चित गर्न र खाद्य सुरक्षामा योगदान पु¥याउनु रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी सीएलआरआरपी कार्यान्वयनका लागि २२ मिलियन अमेरिकी डलर (२ अर्ब ९७ करोड बराबर) को अनुदान सम्झौता र एक करोड अमेरिकी डलर (१ अर्ब ३५ करोड रुपैयाँ बराबर)को ऋण सम्झौतामा मन्त्रालयका सहसचिव धनीराम शर्माले हस्ताक्षर गरे ।
यस परियोजनाले पानीको असुरक्षालाई सम्बोधन गर्ने, प्रकृतिमा आधारित जीविकोपार्जनलाई प्रवर्धन गर्ने र जलस्रोतको दिगो व्यवस्थापन मार्फत स्थानीय समुदायहरूलाई सशक्त बनाउने मन्त्रालयले जनाएको छ ।
परियोजनाले दिगो जल व्यवस्थापन, कृषि वन, सिल्भिकल्चर र वन व्यवस्थापनमा ध्यान केन्द्रित गरी जलवायु चुनौतीहरूसँग अनुकूलन गर्न समुदायहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ ।
परियोजनाले पानी सुरक्षा सुधार गर्न र जलवायु–प्रेरित चुनौतीहरूको लागि यस क्षेत्रको जोखिमलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ ।
प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा.सुरेशप्रसाद आचार्यले आज(बुधवार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो ।
शपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए ।
उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छुट्याएर काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्रीपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगका यही मङ्सिर २३ गतेदेखि अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो ।
आजको मौसम पूर्वानुमान : तराई क्षेत्रमा हुस्सु र कुहिरो
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको छ ।
यस्तै,आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
त्यस्तै,आज सूर्योदय बिहान ६ बजेर ४४ मिनेट र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।
बीआरआई फ्रेमवर्क दस्ताबेजको पूर्णपाठ सार्वजनिक
काठमाडौँ । नेपाल–चीनबिच गत साता बेजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ मंगलबार परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनु अघि सोमवार नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूले बीआरआईको आधिकारिक दस्ताबेज नदेखे पनि यो सहमति नेपालको सार्वभौमसत्ता, पारस्परिक सहयोग र सम्मानमा आधारित भएको होला भन्ने अपेक्षा गरेको टिप्पणी गरेका थिए ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलेको सो टिप्पणीपछि मन्त्रालयले वेबसाइटमा बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ राखेको हो ।
यी हुन् पूर्णपाठको मुख्य विषय
सहयोग पृष्ठभूमि :
१) नेपाल र चीनले १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना गरेपछि दीर्घकालिक पारम्परिक मित्रता विकास गरेका छन् ।
२) २०१७ मा, दुवै सरकारले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI)अन्तर्गत सहयोगको लागि सम्झौता पत्र (MoU)मा हस्ताक्षर गरे ।
३) २०१९ मा दुवै देशको राष्ट्रपतिहरूको राजकीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा उकास्यो ।
सहयोगका सिद्धान्तहरू :
१) साझा परामर्श र समान विकास : आपसी फाइदा, दिगो विकास, र सार्वभौमिकताको सम्मानमा ध्यान केन्द्रित गर्न ।
२) व्यावहारिक सहयोग : दीर्घकालिक दृष्टिकोणलाई तत्काल आवश्यकतासँग मिलाएर, नवाचार र व्यवहारिकताको प्रवर्धन ।
३) नीति वातावरण सुधार : लगानी प्रोत्साहन, कानुनी वातावरण सुधार र समन्वयमा वृद्धि गरी राम्रो सहयोगको लागि काम गर्न ।
सहयोगका उद्देश्यहरू :
आर्थिक साझेदारी : व्यापार, पूर्वाधार र जडानमा सहयोगको प्रवर्धन परियोजनाहरूको कार्यान्वयन बिआरआई ढाँचाअन्तर्गत परियोजनाहरूको पहिचान, विकास र वार्ता गर्ने।
परियोजना सहजता : परियोजना कार्यान्वयनको लागि आवश्यक स्रोत र समन्वय सुनिश्चित गर्ने
सहयोगका प्राथमिकताहरू :
आर्थिक सहयोग : सार्वभौम परियोजनाहरूका लागि प्राविधिक र वित्तीय सहयोग प्रदान गर्ने ।
वित्तीय क्षेत्र सहयोग : दुवै देश बीच वित्तीय विनिमय र लगानीको सहजता
यातायात र जडान : सडक, रेल, र विमानस्थलहरूको निर्माण गरी द्विपक्षीय जडान सुधार गर्ने ।
व्यापार र लगानी : द्विपक्षीय व्यापारको विस्तार, औद्योगिक सहयोगको प्रवर्धन, र विभिन्न क्षेत्रहरूमा लगानी प्रोत्साहन गर्ने ।
कस्टम्स सहयोग : सीमा बन्दरगाहहरूमा सहयोग बढाउँदै, कस्टम्स र व्यापार सञ्जाललाई सुधार गर्ने ।
पहिचान गरिएका परियोजनाहरू :
टोक्खा–छहरे सुरंगः काठमाडौंलाई उत्तरी क्षेत्रसँग जोड्ने रणनीतिक सडक परियोजना
हिल्सा–सीमिकोट सडकः कर्णाली आर्थिक गलियारा अन्तर्गत नेपाल र चीन बीचको जडान सुधार गर्ने महत्वपूर्ण परियोजना
किमाथाङ्का–खाँदबारी सडक र एकीकृत चेक पोस्टः कोशी गलियारा मार्फत जडान सुधार गर्ने परियोजना
चीन–नेपाल क्रस–बॉर्डर रेलवे परियोजनाको नेपाली खण्डः चीन र नेपाललाई जोड्ने रेलमार्ग, जडान सुधारको लागि
सहयोग संयन्त्रहरू :
१) दुवै देशले सहयोगको समन्वयका लागि विशिष्ट मन्त्रालयहरूको चयन गर्नेछन्
२) प्रगति मूल्याङ्कन गर्न र नयाँ परियोजनाहरूको पहिचान गर्न एक समीक्षा प्रक्रिया हुनेछ
३) यो ढाँचा कुनै सम्झौता होइन र अन्तर्राष्ट्रिय कानुनी दायित्वहरू लागु गर्दैन
अवधि र संशोधनहरूः
सहयोग ढाँचा तीन वर्षको लागि लागु हुनेछ, र स्वचालित रूपमा नवीकरण हुनेछ जबसम्म कुनै पक्षद्वारा समाप्त नगरी संशोधनहरू आपसी सहमतिमा गर्न सकिन्छ ।
यो दस्ताबेज पहिचान गरिएका परियोजनाहरूको सूची र परियोजना–प्रति–परियोजना आधारमा निरन्तर सहयोगको महत्त्वलाई जोड दिन्छ ।
सहरी जनमतसँग अझै बढी जोडिने एमालेको निष्कर्ष
काठमाडौँ । नेकपा एमालेले उपनिर्वाचनको समीक्षा गर्दै समग्रमा पहिलेको भन्दा उपलब्धि हासिल भएको दाबी गरेको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोलाई सन्तोषजनक मानेको बताए ।
तर काठमाडौँ- १६ र कीर्तिपुरको नतिजालाई हेर्दा सहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको उनले बताए ।
उनका अनुसार सहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष पार्टीले निकालेको छ ।
आगामी माघमा धरानमा ‘बिजनेस एक्स्पो’ हुने
धरान : धरानमा बिजनेस एक्स्पो हुने भएको छ । धरानको आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उदेश्यले २ साता लामो ‘बिजनेस एक्स्पो धरान २०८१’ आयोजना हुन लागे हो । नेपाल उद्योग व्यवसायी महासंघ धरान उपमहानगर समितिले धरान उपमहानगरपालिका १६ रङ्गशाला परिसरमा यही आउदो माघ २६ देखी फागुन १० गते सम्म सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।
एक्सपोले धरानको आर्थिक गतिविधिमा आएको सुस्ततालाई नयाँ गति दिदैं व्यवसायी, पर्यटन, उद्योगको क्षेत्रमा लगानीको उपयुक्त वातावरण सिर्जना गर्न भूमिका खेल्ने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, एक्स्पो मेलाले, स्थानीय उत्पादन साथै साना घरेलु, मझौला तथा ठुला उद्योग व्यवसायमा लगानीको सम्भावना बढाउन सहयोग पुग्नका साथै एक्स्पोमा सहभागी हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक उत्पादक व्यवासायीहरुसँग अनुभव आदान प्रदान गरी धरानमा लगानी आकर्षित गर्न सकिनुका साथै लगानी सम्भावना स्थलको खोजीमा रहेकाहरू पहिचान गर्ने अवसरको रूपमा पनि एक्स्पोले सहयोग गर्ने उहाँले बताउनुभयो ।
बिजनेस एक्स्पोमा औद्योगिक प्रदर्शनी तथा खरिद विक्री, कृषि उत्पादनहरूको प्रदर्शनी एवं खरिद बिक्री, गार्मेन्टका तयारी पोसाक, जुत्ता चप्पल, खेलौना, ज्वेलरीका उत्पादनहरूको विक्री तथा व्यवसायीक कारोबार हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,एक्स्पोमा निर्माण कार्य सम्बन्धी र कृषि औजारका सामाग्री, प्रविधि, उपकरण, इलेकट्रोनिक्सका सामाग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिने छ ।
उद्योग, व्यवसायको प्रबद्र्धनका लागि आर्थिक विश्लेषण कार्यशाला गोष्ठी, निकासी योग्य स्थानीय उत्पादन, वस्तुको प्रवर्धन विषयक उद्योगी, व्यवसायीहरूका लागि गोष्ठी आयोजना गरिनुका साथै एक्स्पोमा नयाँ प्रविधिका अटो मोबाइल प्रदर्शनी र एक्स्पोमा आउने सर्वसाधारण उपभोक्ताहरूको मनोरञ्जनका लागि दैनिक राष्ट्रिय कलाकारहरूका साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
एक्स्पोमा प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइक्लिङका साहसिक तथा रोमाञ्चक खेलहरू खेलाइनुका साथै फ्लोर कल्चर तथा फुलहरूको प्रदर्शनी, बिरुवा विक्री, स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्री र जातीय मौलिक परिकारहरूका खानपिनको स्टलहरू रहने आयोजकले जनाएको छ । एक्स्पोमा जम्मा ३ सय ५० स्टलहरू रहने छन् भने दुई साता सञ्चालन हुने छन भने एक्स्पोमा १० लाखको सङ्ख्यामा किनमेल गर्न दर्शकहरू आउने अनुमान गरिएको एक्स्पोका मूल संयोजक राजेश अग्रवालले बताउनुभयो ।
नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा कमी
काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
यस दिन नेप्से परिसूचक ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५२ हजार ७०५ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ ।
कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ९.९० प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सानिमा माइ हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको कारोबार रकम १७ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ । अन्य उपसमूहमध्येको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।
































