नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।
सोमबार नै बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको थियो । सोही प्रस्ताव कांग्रेस संसदीय दलको बैठकबाट पारित भएको सभापति गगन थापाले जानकारी दिए ।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति थापाले संसदीय नेता चयनको प्रक्रियामा समय अलि बढि लागेकाले टिकाटिप्पणी हुनु स्वभाविक रहेको बताए ।
निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेताको चयनको प्रक्रिया टुंगो लगाउन सकिने भएतापनि बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा चयन हुनुपर्ने चाहना भएकाले ढिला भएको जानकारी दिए ।
कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो तर सर्वसम्मत गराउन गार्हो रहेको बताउँदै सभापति थापाले ढिलो भएपनि भित्रभित्रै परिपक्क बनाएको धारणा राखे ।
उनले भने,‘चयनको प्रक्रियामा समय अलि बढि लागेकाले स्वभाविक रुपमा टिकाटिप्पणी धेरै भए । निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेता चयनको प्रक्रिया टुंगो लगाउन सकिन्थ्यो । तर यो पटक बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा होस् भन्ने थियो । कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो छ तर सर्वसम्मत गराउने कुरा गार्हो छ । ढिला भएपनि परिपक्व बनाइरहेका थियौं ।’
त्यस्तै नेता आङ्देम्बेले विगतमा पार्टी र संसदबीचको एउटा समन्वय कम भएको भन्दै अब पार्टी र संसदबीचको समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जाने प्रतिबद्धता जनाए ।
‘हिजो पार्टी र संसदबीचको एउटा समन्वयात्मक बिर्सिएको जस्तो अवस्था थियो । तर आज त्यो खोजेर अगाडि बढ्नैपर्ने आवश्यक छ । पार्टी र संसदबीचको एउटा समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जान्छौं,’ उनले भने ।
उनले संसदीय दलको अन्य पदाधिकारीहरुको टुंगो २४ घण्टा भित्र मै टुंगो लाग्ने जानकारी दिए ।
सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्कराज राईको आरोप
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
आज सामाजिक संजालमार्फत उनले सरकार मुकुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनामा भने उदार देखिएको टिप्पणी गरेका हुन् ।
‘सुकुमबासी बस्तीको पछि लागेको सरकारले मुकुम्लुङमा कन्चन्जङ्गा आरक्षण क्षेत्र नै मासेर गुराँसघारी उडाएर केवलकार थाप्न खोज्ने व्यपारीलाई चाहिँ माया गर्छ हो ?,’ उनले लेखेका छन् ।
उनले आज अरूको घरमा डोजर पुग्दा समर्थन गर्नेहरूकै घरमा भोलि डोजर चल्लन सक्ने बताए ।
उनले लेखेका छन्, ‘मलाई गाली गर्नेहरुकै घरमा कुनै दिन डोजर आइपुग्यो भने चाहिँ के भन्दा हुन् मलाई ! अरुलाई खाने बाघले आफुलाई पनि खान्छ है !’
थापाथली सुकुम्बासी व्यवस्थापनका लागि लगत संकलनदेखि स्वास्थ्य सहायता सम्मको तयारी
काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रशासन प्रमुख कविता केसी बोगटीले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा वास्तविक सुकुम्बासीहरूको पहिचान गरी अस्थायी व्यवस्थापन गरिएको बताएकी छन्।
उनले पहिलो चरणमा वास्तविक सुकुम्बासीहरूको लगत संकलन गरिने जानकारी दिँदै लगत संकलनपछि उनीहरूलाई सामानसहित सुरक्षित स्थानमा सारिने बताइन्। उनका अनुसार तत्कालका लागि राधास्वामी, कीर्तिपुरको सत्संगभित्र अस्थायी बसोबासको व्यवस्था गरिएको छ, जहाँ बस्ने र खाने सम्पूर्ण सुविधा उपलब्ध गराइनेछ।
बोगटीले दोस्रो चरणमा उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि स्पष्ट पारिन्।
यसैबीच, काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत ऋषि भुसालले सुकुम्बासी स्थानान्तरणका क्रममा स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या समाधानका लागि मेडिकल हेल्प डेस्क स्थापना गरिएको जानकारी दिए।
महामारी रोकथाम तथा नियन्त्रणमा फोकल पर्सनको रूपमा कार्यरत भुसालले नेपाल सरकारको आह्वानअनुसार सुकुम्बासीहरूलाई हालको स्थानबाट सुरक्षित स्थानमा सार्ने क्रममा स्वास्थ्यजन्य समस्या आउन सक्ने भएकाले मेडिकल टोली खटाइएको बताए।
उनका अनुसार टोली सिफ्टअनुसार परिचालित छ, जसमा ४ जना डाक्टरसहित नर्सिङ टोली गरी १२ देखि १५ जना स्वास्थ्यकर्मी रहेका छन्। प्राथमिक उपचार, मानसिक समस्या देखिए काउन्सिलिङ, तथा आवश्यक परे सम्बन्धित अस्पतालसम्म लैजान एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनले बताए।
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन् । यस भ्रमणलाई तेहरान र वासिङ्टनबीचको तनाव कम गरी संवाद सुरु गर्ने एउटा महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र वरिष्ठ सल्लाहकार जारेड कुश्नरलाई इरानसँग सम्बन्धित वार्ताका लागि पाकिस्तान पठाउने निर्णय गरेसँगै अराघची इस्लामावाद पुगेका हुन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानी पक्षले प्रत्यक्ष वार्ता गर्न इच्छा देखाएपछि अमेरिकी टोली पठाउन लागिएको जानकारी दिइन् ।
आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री अराघचीले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख जनरल असिम मुनिरसँग भेटघाट गर्ने कार्यक्रम छ । पाकिस्तानको भ्रमण सकेपछि उनी क्षेत्रीय भ्रमणकै सिलसिलामा ओमान र रुस प्रस्थान गर्नेछन् ।
अमेरिकाले यस वार्ताबाट सकारात्मक नतिजा निस्कने आशा व्यक्त गरेको छ भने आवश्यकता परेमा अमेरिकी उपराष्ट्रपति पनि भ्रमणमा जान सक्ने बताइएको छ । एएनआई
सुकुम्बासी बस्तीमा प्रदर्शन, सत्ताको आडमा ‘डोजर आतङक’ बन्द गर्न माग
काठमाडौं । सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरु बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन् ।
उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यहि हो र ?’ ‘शहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा पुगेकी एक जेनजी युवतीले सरकारले सुकुम्बासीहरुलाई डोजरको आतङक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण रहेको बताइन् ।
संविधानले नागरिकको आवासको हकको सुनिश्चित गरेपनि सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको उनको भनाइ थियो ।
प्रदर्शनमा पुगेकी एक युवतीले भनिन्, ‘पूराना दलहरुले जसरी सुकुम्बासी भूमिहीनहरुलाई भोटर बैंक बनाए । त्यसैगरी यो सरकारले पनि पूरानै दलहरुको संस्कार अवलम्बन गरिरहेको देखियो । सरकारले भूमिहीन सुकुम्बासीहरुलाई डोजरको आतङक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण छ । मानव अधिकारको पनि उल्लङ्घन गरेको छ । संविधानले हरेक नागरिकको आवासको हकको सुनिश्चित गरेको छ । सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको छ । त्यसैले यो सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको छ ।’
आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते जनआन्दोलनको दबाबपछि तत्कालीन राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपालमा लोकतान्त्रिक परिवर्तनको नयाँ अध्याय सुरु भएको थियो। यही दिनलाई २०६४ सालदेखि लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो।
संसद् विघटनपछि देशमा राजनीतिक अस्थिरता बढेको थियो। २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सात दल र तत्कालीन नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो, जसले जनआन्दोलनलाई निर्णायक बनायो।
लाखौँ जनता सडकमा उत्रिएपछि वैशाख ११ गते संसद् पुनस्र्थापना भयो। त्यसपछि २०६५ जेठ १५ गते संविधानसभाले २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो।
यसैले वैशाख ११ लाई गणतन्त्रको आधारशिला र जनअधिकारको विजय दिवसका रूपमा स्मरण गरिन्छ।
अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् ।
उनले ‘संविधान संशोधन कार्यशाला २०८३’ जारी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो प्रस्ताव अघि सारेका हुन् ।
उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सरकार गठन गर्दा निर्वाचित कार्यकारी प्रमुखका व्यक्तिहरूले लिएर मन्त्री परिषद् गठन गरिने, मन्त्री परिषद् चयन गर्दा सभ्यता, जाति, समुदाय र लिङ्गका आधारमा समावेशी प्रकार र चरित्र चुन्नुपर्ने उल्लेख छ ।
त्यस्तै सरकार सञ्चालनको कार्यविधि तय गर्ने, कानुन तय गर्ने, सरकारको काम सम्बन्धित कार्यविधि मुताबिक भए नभएको अध्ययन गर्ने, मूल्याङ्कन गर्ने, र निरीक्षण गरी सरकारलाई सुझाव दिने उल्लेख गरेका छन् ।
कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने, संसदमा महाअभियोग पास भए पद मुक्त गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
मुस्कुराउँदै बाहिरिए मन्त्रालयबाट गृहमन्त्री (तस्विरहरु)
गृहमन्त्री सुदन गुरुङ राजीनामा दिए लगत्तै मन्त्रालयबाट बाहिरिएका छन् । राजीनामा दिएपछि मन्त्रालयबाट बाहिरिँदै गर्दा उनी मिडियासामु नमस्ते गर्दै मुस्कुराइरहेको अवस्थामा बाहिरिएका हुन् ।
तस्विरमा उनी सहज र संयमित मुद्रामा देखिन्छन्, जहाँ सञ्चारकर्मीहरूलाई अभिवादन गर्दै मुस्कुराउँदै बाहिरिएको दृश्य कैद गरिएको छ। मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका थिए ।
चैत्र १३ गते गृहमन्त्री बनेका गुरुङ विवादास्पद शेयर कारोबारका कारण विवादमा तानिएका थिए । चौतर्फी आलोचना भएपछि उनले बुधबार राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीको आधिकारिक पेज ‘पीएमओ–नेपाल’मा प्रयोग हुने भिडियाेमा खोई आवाज ?
काठमाडौं । सामान्यतया भिडियोले भ्यूअर्सको मनोभाव बुझनुपर्छ । भ्यूअर्सको मनोविज्ञान र भिडियोमा मौलिकता पनि झल्किनुपर्छ । तर श्रब्यदृश्य सामग्री निर्माणमा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को टीम नै ‘अल्पज्ञानी’ जस्तो देखिएको छ ।
प्रधानमन्त्रीको आधिकारिक सरकारी पेज ‘पीएमओ–नेपाल’मा राखिएको भिडियोमा पाश्चात्य धुनको प्रयोग गरेको पाइएको छ । कम बोल्ने र परिणाममुखी काम गर्ने रणनीति लिएका प्रधानमन्त्री बालेनले महत्वपूर्ण र राष्ट्रिय स्तरमा चासो राख्ने कार्यक्रम एवम अन्तरक्रियाहरुको भिडियोमै पाश्चात्य धुन एकोहोरो बजाइरहेको पाइएको छ ।
विश्वविद्यालय र प्रतिष्ठानहरूका उपकुलपतिहरूसँग समसामयिक विषयमा गरिएको छलफलको भिडियोमा मौलिक नेपाली धुनको साटो पाश्चात्य धुन मात्रै राखिएपछि श्रब्यदृश्यका जानकारहरुले गम्भीर प्रश्न उठाएका छन् ।
सरकारी स्तरको औपचारिक सामग्रीमा नेपाली मौलिकपन झल्किनुपर्नेमा ‘विदेशी धुन’ बजाइनुले श्रब्यदृश्य सन्देशको गाम्भीर्यता नै कमजोर बनाएको टिप्पणी हुन थालेको छ ।
श्रव्यदृश्य भाषाका विज्ञ तथा पूर्व टेलिभिजनकर्मी प्रकाशजंग कार्कीका अनुसार भिडियोमा संगीत प्रयोग गर्दा सबैभन्दा पहिले त्यसको सन्दर्भ, उद्देश्य र दृश्यसँगको मेललाई ध्यान दिनुपर्छ ।
‘कस्तो किसिमको भिडियो हो, त्यसले कस्तो भाव व्यक्त गर्न खोजेको हो, त्यसमा भर पर्छ । संगीत केवल राख्नकै लागि राख्ने होइन, त्यसले दृश्यको अर्थलाई ‘इन्हान्स’ गर्नुपर्छ,’ उनले भने ।
कुराकानीमा उनले विशेषगरी प्रधानमन्त्री कार्यालय, मन्त्रालय वा सरकारी निकायका औपचारिक भिडियोहरूमा सकेसम्म नेपाली सांस्कृतिक तथा लोक मौलिक लोक धुन प्रयोग गर्नु उपयुक्त हुने धारणा राखे ।
‘बाहिरको संगीत प्रयोग गर्दा कहिलेकाहीँ ‘कपीराइट’को समस्या पनि आउन सक्छ । राइट भएको संगीत परेमापछि ठूलो झन्झट हुन सक्छ । त्यसैले आफ्नै इन्स्ट्रुमेन्टल, लोकल स्कोर वा नेपाली मौलिकता झल्किने धुन प्रयोग गर्नु सबैभन्दा राम्रो विकल्प हो ।’
कार्कीले संगीतले दृश्यसँग भावनात्मक ‘अट्याचमेन्ट’ दिनुपर्ने बताए । ‘म्युजिकको काम भनेको दृश्यलाई अझ गहिरो अर्थ दिनु हो । केवल मनोरञ्जकता दिनका लागि मात्र संगीत राख्दा उल्टै ‘अपोजिट फिलिङ’ पनि दिन सक्छ,’ उनले भने ।
उनका अनुसार भिडियोको ‘अन्डरलाइनिङ स्टोरी’ अर्थात् दृश्यले प्रत्यक्ष नदेखाएको भित्री भावलाई संगीतले दर्शकसम्म पु¥याउनुपर्छ । ‘भिजुअलको मिनिङलाई संगीतले बलियो बनाउने हो । स्टोरीलाइन र दृश्यको भावअनुसार संगीत छनोट भयो भने मात्र त्यसको महत्व हुन्छ,’ उनले स्पष्ट पारे।
त्यसैले सरकारी तथा सार्वजनिक महत्वका भिडियोहरूमा संगीत प्रयोग गर्दा केवल आकर्षणका लागि नभई, सन्देश, मौलिकता र देशको सांस्कृतिक, नैतिक पक्षलाई ध्यानमा राख्नु आवश्यक देखिन्छ अन्यथा, ‘म्यूजिक फर द सेक अफ म्युजिक’ मात्रै हुँदा त्यसले दर्शकमाझ गलत प्रभाव पनि पार्न सक्छ ।
पछिल्लो समय मन्त्री, मन्त्रालय तथा विभिन्न सरकारी निकायका सामाजिक सञ्जाल पेजहरूमा पनि यस्तै प्रवृत्ति बढ्दो देखिन्छ । भिडियोको सन्दर्भसँग मेल नखाने, नेपाली मौलिकता नझल्किने र केवल ‘ट्रेन्डिङ’ देखिने धुनहरू प्रयोग गरिँदा सरकारी सामग्रीको विश्वसनीयता र गरिमा नै कमजोर बन्ने चिन्ता व्यक्त भइरहेको छ ।
सरकारी सामग्रीमा प्रयोग हुने संगीत केवल ‘सुन्न रमाइलो’ हुनु पर्याप्त हुँदैन; त्यसले राष्ट्रको प्रतिनिधित्व, सांस्कृतिक पहिचान, भाषिक मौलिकता र सन्देशको संवेदनशीलतालाई समेत बोकेको हनुपर्ने आवाज उठेको छ ।
विशेषगरी प्रधानमन्त्री कार्यालय जस्तो संस्थाबाट सार्वजनिक हुने भिडियोमा नेपालीपन, सन्दर्भ र भावनात्मक सन्तुलन झल्किनु अझ आवश्यक मानिन्छ ।
त्यसैले श्रव्यदृश्य सामग्री निर्माणमा संगीतलाई सामान्य पृष्ठभूमि तत्वको रूपमा होइन, सन्देशको अभिन्न हिस्साका रूपमा हेर्नुपर्ने आवश्यकता देखिएको छ ।
सरकारी तथा सार्वजनिक महत्वका भिडियोहरूमा संगीत प्रयोग गर्दा केवल आकर्षणका लागि नभई सन्देश, मौलिकता, नैतिकता र दर्शकको मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्छ। अन्यथा, गलत संगीतले सही सन्देशलाई समेत कमजोर बनाइदिन सक्छ ।
‘पीएमओ–नेपाल’मा अपलोड भएका पूराना भिडियोहरुमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली स्वयमको आवाजसहितको भिडियो सामग्री अपलोड गरिएएको भएपनि हालका प्रधानमन्त्रीको भिडियोमा भने सांकेतिक भाषाका लागि मात्रै तयार भएकोजस्तो देखिएको छ ।
सार्वजनिक महत्व राख्ने प्रधानमन्त्री बालेनका छलफल एवम् अन्तरक्रियाहरुमा आमसंचारमाध्यमहरुलाई प्रवेशमा समेत कडाइ गरेर भिडियो कैद गर्न समेत नदिएपछि तिब्र आलोचना समेत भइरहेको छ ।
गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा लेख्दै जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै पछिल्ला दिनहरूमा आफ्नो शेयर लगायतका विषयमा नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी तथा जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन् ।
उनले पदभन्दा नैतिकता र जनविश्वासलाई ठूलो मान्ने बताउँदै निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘ म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु । पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरुको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’
उनले पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र छानबिनमा कुनै असर नपरोस् भन्ने उद्देश्यले तत्काल पद त्यागेको बताएका छन् । साथै, उनले आफ्नो कदमलाई नैतिक जिम्मेवारीको निर्वाहका रूपमा व्याख्या गरेका छन् ।
उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरेका छन् ।
उनले सबै पक्षलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन आग्रह गरेका छन् । गुरुङले सञ्चारकर्मी, सर्वसाधारण तथा युवाहरूलाई सम्बोधन गर्दै वास्तविक परिवर्तनका लागि त्याग र नैतिक साहस आवश्यक हुने बताएका छन् ।


